काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले १२ जनालाई कारबाही गर्न सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा असोजमा गठन भएको आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो ।
आयोगले छानबिनबाट सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जना दोषी देखिएको उल्लेख गर्दै उनीहरूलाई कारबाही सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो । यसैगरी सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
यस्तै सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई सुन तस्करी प्रकरणमा दोषी ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । गृहमन्त्री लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष उक्त प्रतिवेदन बुझाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न अगाडि बढ्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले आज बिहान नै दोषी देखिएका प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनपछि एआइजी बज्राचार्य लगायतका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आयोगले सिफारिस गरेको विषयहरूमा निर्णय गर्नेबारे छलफल गर्न आज अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।