• जेष्ठ ५ २०८३, मंगलवार

रामेछापको टारगाउँमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट

चैत्र १ २०८०, बिहीबार

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–९ टारगाउँमा बिहीबार भएको भीषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट भएको छ । बुधबार बस्ती नजिकैको जंगलमा आगलागी भएपछि नियन्त्रणमा लिएको डढेलो पुनः सल्किएर बिहीबार आगामी भएको बताइएको छ ।

रामेछाप बजारमा बिहीबारे हाट हेर्न स्थानीय गएको बेला डढेलो बस्तीमा प्रवेश गरेर आगलागी भएको बुझिएको छ । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवका अनुसार २० भन्दा बढी घर गोठ जलेको अवस्था छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षति भएको यादवको भनाइ छ ।

बाग्लो बस्ती रहेको टार गाउँका अधिकांश घरहरू जलेको अवस्थामा छन् । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षति भएको छ ।

टारका स्थानीयहरू रामेछापको बिहीबारे हाटमा आएको समयमा आगलागी हुँदा धेरै क्षति भएको वडाध्यक्ष चन्द्र श्रेष्ठले बताए । आगलागी नियन्त्रणको प्रयास भइरहेको उनले बताए । नेपाली सेना, डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानीय नागरिकहरू आगो नियन्त्रणमा खटिएका छन् । क्षतिको पूरा विवरण आउन बाँकी रहेको छ ।