• जेष्ठ ५ २०८३, मंगलवार

सिँचाइ कुलो निर्माणमा भ्रष्टाचारः इन्जिनियर पाण्डेसहित सात जनाविरुद्ध मुद्दा

चैत्र १ २०८०, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुकाे सोरु गाउँपालिका–९ मा पर्ने सिड्डिखोला फुकलछडा सिँचाइ कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले इन्जिनियर पाण्डे, महेश सिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिकी अध्यक्ष दीपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला प्राविधि कार्यालयमार्फत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित सिँचाइ आयोजनामा तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित प्राविधिकहरूले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।