काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई बुधबार सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए ।
‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट ।’
उनले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिए ।