काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले वर्तमान राजनीतिक परिस्थितिका बारेमा धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरी (श्रेष्ठ) लाई सम्झाउने प्रयास गरेका छन् ।
सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो । पार्टीका संस्थापक रेशम वर्तमान सरकारको विपक्षमा रहँदा अध्यक्ष रञ्जिताले भने प्रधानमन्त्री दाहालले आज लिने विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेकी छिन् ।
यसै प्रसङ्गमा चौधरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय भन्दै विषय हार जितको नभएको बताएका छन् ।
उनले आज जिते प्रचण्ड र ओली तथा भोलि फेरी देउवा जित्लान् भन्दै सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो भन्दै सम्झाउने प्रयास गरेका छन् ।
उनले कसैको पछाडि नलागी पार्टी निर्माणमा जुट्न आग्रह पनि गरेका छन् ।
उनले भनेका छन्, ‘ सन्दर्भ घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस्– एमाले, माओवादी कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता, सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजवादी समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ ? त्यसैले कुरा बुझौँ, कुनै पनि गठबन्धनका पछाडि नलागौँ ।’