• जेष्ठ ५ २०८३, मंगलवार

सिटी स्टार होटेलमा बसेकी युवती मृत फेला, घटना रहश्यमय

फाल्गुन २९ २०८०, मंगलवार

काठमाडौं । जनकपुरधामको सिटी स्टार फेमिली होटलबाट अचेत अवस्थामा अस्पताल पुर्याइएकी युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बिहान ८ः१५ बजे पोखरा घर भएकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार नेपालीको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । होटलमा बेहोस अवस्थामा भेटेर उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

उनी विवाहिता भएको खुलेको छ । मृतक युवतीकी नन्द जनकपुरमै छिन् । होटलमा उनी किन गइन् र उनको साथमा अरु को–को थिए भन्नेबारे अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ । यद्यपि, खुश्बुका साथमा अन्य दुई युवक होटलमा बसेको आशंका गरिएको छ । उनीहरूलाई प्रहरीले घटनास्थलमा फेला पारेन ।

घटनाबारे प्रहरीले पोखरामा रहेका खुश्बुका श्रीमानलाई पनि खबर गरिसकेको छ । रहस्यमय देखिएको यस घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले बताए ।