• फाल्गुन २४ २०८२, आईतवार

कुष्ठरोग

फाल्गुन २९ २०८०, मंगलवार

कुष्ठरोग के हो?

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो।पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि  भनिन्छ। प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ।समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइसकेको छैन। अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ। त्यसैले सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजि गर्नु अत्यन्त आवश्यक छ।

कुष्ठरोगको चिह्न र लक्षण 
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो।यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

कुष्ठरोगको उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात  (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात  (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ। साथै हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च रु। १ हजार उपलब्ध गराएको छ।