कैलाली ।कर्णाली पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको छ । हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए । उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।’
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।
कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आगलागी भएको थियो ।