• मंसिर १४ २०८१, शुक्रबार

मन्त्री छान्ने विषयमा एकीकृत समाजवादीमा चर्काचर्की, बैठकस्थलबाटै प्रचण्डलाई माधवकाे फोन

फाल्गुन २८ २०८०, सोमबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले सचिवालय बैठकको निर्णयबिना नै आफूखुसी मन्त्री बनाएको भन्दै नेताहरुको चर्को आलोचना भएको छ । नेताहरुले अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको चर्को आलोचना गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि पुनः पार्टी बैठक बसेर सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने भनिए पनि अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भुसालले त्यसो नगरी पार्टीका तर्फबाट आफूखुसी मन्त्री हुनेको नाम प्रधानमन्त्रीलाई दिएकोमा सांसदहरूले चर्को असन्तुष्टि जनाएका हुन् ।

गत फागुन २३ गते बसेको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुनेरनहुने भन्ने बारे तीन नेतालाई प्रधानमन्त्रीसँग छलफल गरेर पुन निर्णय गर्ने गरी वार्ता गर्न खटाएको थियो । सचिवालय बैठक लगत्तै नेपालसहितका नेताहरू केही सर्तसहित प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार गएका थिए । सोही दिन नयाँ मन्त्रीहरूको शपथ राखिएको थियो । तर वार्ता गर्न गएको टोलीले त्यसैवेला प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट मन्त्री हुनेहरू भानुभक्त जोशी र धनबहादुर बुढाको नाम दिएका थिए ।

सोही अनुसार जोशी सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्रीका रूपमा शपथ लिएका थिए । त्यसप्रति अन्य सांसदहरूले आपत्ति जनाउँदै सोमबार बसेको दलको बैठकमा प्रचण्ड नेतृत्वको सरकार टिकाउनकै लागि मात्र आफ्नो पार्टीले समर्थन गरेको हो कि शक्ति बाँडफाँडमा पनि कुनै भूमिका र लिखित सहमति भएको छ भनेर अध्यक्ष नेपाललाई प्रश्न गरेका थिए । सो पार्टीका एक सांसदका अनुसार त्यस क्रममा अध्यक्ष नेपाल र सांसदहरूबिच चर्काचर्की नै भएको थियो । ‘सवाल जवाफका क्रममा ठुलै चर्काचर्की भयो । यही अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन भनेर नोकझोक पनि भयो’, ती सांसदले भने, ‘प्रदेश भागबन्डा पनि भएको सुनिएको छ । प्रदेश भागबन्डामा हाम्रो पार्टीले कुन कुन प्रदेशको मुख्यमन्त्री पाउने हो प्रष्ट पार्नुपर्छ भन्ने आवाज उठ्यो ।’

सांसदहरूले नेतृत्वको चर्को आलोचना गरेपछि नेता नेपालले त्यसो भए मन्त्रीहरू फिर्ता बोलाउँछुसम्म भनेका थिए । त्यस्तै उनले कम्युनिस्ट नेतृत्वको सरकारमा सहकार्य गर्नु उचित ठानेर र समय अभावले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएको जवाफ दिएका थिए । तर नेता नेपालको भनाइमा विश्वास नगरेपछि बैठकस्थलबाटै प्रधानमन्त्री प्रचण्डलाई ह्याण्डस फ्रि फोन गनुपर्ने अडान सांसदहरूले राखेका थिए । त्यसपछि नेपालले त्यहीँबाट प्रधानमन्त्री प्रचण्डलाई फोन लगाएका थिए । त्यस क्रममा प्रधानमन्त्रीले प्रदेश भागबन्डा नगरिएको र राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनपछि मात्रै नेता नेपालसँगको छलफल पछि मात्र प्रदेश भागबन्डा गर्ने बताएका थिए । प्रचण्डको भनाई सुनेपछि मात्रै सांसदहरू केही नरम बनेका थिए ।

सोमबारको दलको बैठकपछि प्रमुख सचेतक समेत रहेका मेटमणि चौधरीले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने सकिने बताए । चौधरीले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमा लिखित सहमति जनाए मात्रै पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए ।