काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बुढानिलकण्ठमा बसेको कांग्रेस संसदीय दलको बैठकले शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
बैठकले कांग्रेस उम्मेदवार शर्माको पक्षमा मतदान गर्न राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दल तथा माननीय सदस्यहरुसँग समेत अनुरोध गर्ने निर्णय गरेको छ ।
बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाअध्यक्ष बनाउने सहमति भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग गठबन्धन गरेपछि अध्यक्ष बन्ने भनेर राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेको छ ।
गठबन्धन परिवर्तन भएपश्चात शर्मालाई कांग्रेसले उम्मेदवार बनाएको हो । एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो ।
आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको छ । उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाई हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ ।