• मंसिर १४ २०८१, शुक्रबार

प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउँदै माओवादी

फाल्गुन २७ २०८०, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ । आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको चक्रपाणी खनालले जानकारी दिए ।

उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाई हुन् । एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय गरेको छ । माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको थियो । अध्यक्ष बन्ने भनेर राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेको छ । अध्यक्षमा कसलाई उठाउने भन्नेबारे कांग्रेसले टुंगो लगाउन सकेको छैन ।