• मंसिर १४ २०८१, शुक्रबार

सिटौलाले प्रचण्डलाई भने,‘उहिले गिरिजाबाबुलाई धोका दिनु भयो आज मलाई’

फाल्गुन २७ २०८०, आईतवार

फागुन २७, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ‘धोकेबाज’ भनेका छन् ।
सिटौला कांग्रेस महामन्त्री गगन थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर आइतबार बिहान ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । उनले प्रचण्डले यसअघि ‘राष्ट्रियसभा अध्यक्ष बन्दिनुस्’ भनेको र अन्त्यमा धोका दिएको भेटमा बताए ।
सिटौलाले प्रचण्डलाई आफूले देशको प्रधानमन्त्रीलाई नभएर माओवादी केन्द्रको अध्यक्षको हैसियतमा भनेको पनि बताएका थिए । ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा (माओवादी केन्द्र)को अध्यक्षको हैसियतमा भेट्न आएको हुँ । तपाईंले गिरिजाप्रसादलाई त्यस बेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ,’ सिटौलाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने,‘तपाईं त्यसबेला गिरिजाबाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनुभएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ ।’

सिटौलाले आफू राष्ट्रियसभाका निम्ति आकांक्षी नै नभएका बेला अध्यक्ष बन्न आग्रह गरेर निर्वाचनमा होमिन भनिएको भन्दै पार्टीसँगै व्यक्तिगत रूपमा विश्वासघात गरिएको बताएका थिए । त्यसक्रममा प्रचण्डलाई सिटौलाले फागुन १७ मा भएको भेटमा २० गते भेट्ने भनेर छुटेको उल्लेख गरे । त्यसपछि भेट नै नभएकाले पनि भेट्न आएको उनले बताएका थिए । ‘त्यसबेलाको भेटमा तपाईंले गठबन्धनमा समस्या भएको विषय समेत राख्नुभएको थिएन, छलफल समेत नगरी एकाएक बाहिरिनुभयो,’ सिटौलाले भेटमा भने ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘बाहिर त चर्चा सुरु भइसकेको थियो’ भनेको ती नेताले जानकारी दिए । सिटौलाले ‘तपाईंको विश्वास गर्ने कि बाहिरका चर्चाको ?’ भन्दै प्रश्न गरको थिए । प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसादलाई पनि धोका भएको भेटमा स्वीकार गरेका थिए । राजनीतिक घटनाक्रमको उपजका रूपमा सिटौलामाथिको धोकालाई उनले अथ्र्याउने प्रयास गरेका थिए । सिटौलाले भने प्रचण्डको पहिचान नै धोका र विश्वासघात बनेको बताएका थिए । यसको राजनीतिक मूल्यले प्रचण्डले चुुकाउनु पर्ने उनले चेतावनी दिए ।

‘तपाईंले गरेको विश्वासघात र धोकाको श्रृंखला यतिमै टुंगियो भन्ने नठान्नु होला, सिटौलाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंसँग आज म राष्ट्रियसभा अध्यक्षको आकांक्षी होइन, नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेताको हैसियतमा भेट्दैछु ।’
प्रचण्डसँग विश्वासको सम्बन्ध र राजनीतिक सहकार्य कसैले राख्न नसक्ने अवस्था बनेको सन्देश सिटौलाले उनलाई दिएका थिए ।