• बैशाख १० २०८२, बुधबार

बौद्ध दर्शन सम्बन्धि शिक्षा अध्ययन गर्न आधा दर्जन नेपाली विद्यार्थी सिक्किम प्रस्थान

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौँ  । बौद्ध जागरण संघ ललितपुरको तर्फबाट शैक्षिक अध्ययनको लागि करिव आधा दर्जन नेपाली विद्यार्थी सिक्किम गएका छन् ।
१० वर्षको लागि गएपनि विद्यार्थीहरु सो भन्दा धेरै समय बस्न पनि सक्नेछन् । बौद्ध दर्शन सम्बन्धि विषय र नैतिक शिक्षा अध्ययन गर्न गएका उनीहरु मध्ये ४ जना पुरुष लामा बनेर फर्कनेछन् भने ३ जना महिला भिक्षु बनेर फर्कनेछन् ।

सिक्किममा रहेको नेदु छिदु छोकोलिङ विद्यालयमा उनीहरुले बुद्ध दर्शनका बारेमा अध्ययन गर्ने बौद्ध जागरण संघ ललितपुरका अध्यक्ष काँइला लामाले जानकारी दिए । विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरियो । विदाई कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता प्रकाशमान श्रेष्ठले गरेका थिए ।

संस्थाका सदस्य सोमबहादुर गोलेले सहभागीहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरे । विद्यार्थीहरुको विदाई कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका सदस्य मोहन शाक्यले सिक्किम पहिला नेपालको भुमाग भएको तर पछि भारतको भएको भएपनि आज आफ्ना सन्तानलाई त्यहाँ पढ्न पठाउन पाएकोमा खुशी भएको बताए ।

साथै उनले हामीले पठाएका विद्यार्थीहरु गुम्बामा बसेर नैतिक शिक्षा पढेर आउन सफल हुनेछन् भन्ने अभिलाषा व्यक्त गरे । विदाई कार्यक्रममा विदा भइ जाने विद्यार्थीहरुलाई परिचयपत्र प्रदान गरी विदाई गरियो ।

विदा भइ अध्ययनका लागि जाने विद्यार्थीहरु सुगम तामाङ, सविन तामाङ, खेसाङ गोले, सोमराज मोक्तान, निकिसा माझी, सापना तामाङ, न्यूसन माझी र बिनुका तामाङ रहेका छन् । विदाई कार्यक्रमको सञ्चालन भीम घिसिङले गरेका थिए ।