• फाल्गुन २९ २०८२, शुक्रबार

देशमा तुलना गर्न नै नसकिने गरी परिवर्तन आयो : केपी ओली

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्था तुलना गर्न नसक्ने गरी परिवर्तन भएको बताएका छन् । कतिपयले अवस्था परिवर्तन भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले सो कुरामा सत्यता नभएको दावी गरे ।
शनिबार मोतिदेवी स्मृति केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको बताउँदै विगतमा त्यस्तो थियो र ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘कतिपयले व्यवस्था परिवर्तन भयो अरु थोक केही भएन भन्ने गरेका छन् । व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको छ । अवस्था परिवर्तन तुलना गर्न नसकिने गरी भएको छ । महिलाहरू मन्त्री भइसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेका छन् । ३३ प्रतिशतले सरकारकी क्षेत्रमा कार्यान्वयन भएको छ । संसदमा कार्यान्वयन भएको छ । अरु ठाउँमा जागिरमा आरक्षण गरिएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आरक्षणमा समानुपातिकमा महिला र पुरूष भनेर तोकेर नै भनिएको र अब यसलाई कम्तीमा यति महिला भनेर तोकिनु पर्ने वा सकेजति संख्या बढाउनुपर्ने जिकिर गरे । उनले अब महिलाहरूलाई सशक्तिकरणका माध्यमबाट पुरुष सहर अधिकार दिलाउन एमाले लागिपर्ने उल्लेख गरे ।

कानुन निर्माण, सामाजिक न्याय र समानताका लागि भएका हरेक आन्दोलनमा एमाले अग्रस्थानमा रहेको दावी गरे । उनले जनताको अवस्था पूर्णरुपमा राम्रो बनाउने जिम्मेवारी पनि आफूहरूमा रहेको औंल्याए ।