• जेष्ठ ५ २०८३, मंगलवार

परम्परागत संस्कार त्याग्दै नयाँ तरिकाले गरियो दाङका योधनकृष्ण उपाध्यायको मृत्यु संस्कार

फाल्गुन २४ २०८०, बिहीबार

दाङ, हापुरे फाल्गुन २४ । प्रतिरोध जनअधिकार आन्दोलनका संयोजक प्रमोद धितालका बाबु योधनकृष्ण उपाध्यायको देहावसानको बाह्रौं दिनको अवसरमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शोक मन्तब्य राख्दै साहित्य, कला तथा संस्कृति विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसीले गरुड पुराणले सजायहरुको डर दिमागमा हालिदिएकोले त्यसलाई छोड्नु परेको बताए । सो अवसरमा बोल्दै भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ पाण्डेले ‘मृत्यु जीवनको सत्य हो, अगाडि र पछाडिको कुरा मात्र फरक हो । आज ढोंगी र रुढीबादी कुरा पछ्याउँदा सही हुने तर छोड्दा अधर्मी हुने अवस्था छ । जेजति गर्ने हो जिवित हुँदै गर्ने हो ।’

भूमी आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले हिन्दु धर्मभित्र सो‍ह्र संस्कारमध्य आज कैयन संस्कारहरु छुटेका तर केही संस्कारहरु सबैका लागि अनिवार्य रहेको बताए । उनले अगाडि भने ‘जन्मे नाम राख्नुप‍र्याे, विवाह गर्नुपर्यो, मृत्युु भएमा अन्त्यष्टी गर्नैप‍र्यो, तरिका आआफ्ना हुन्छन् ।’

मृत्युको बेला जम्मा हुने र सहयोग गर्ने परम्परा ठिक रहेको उनको भनाई छ । त्यसैगरी नेसंविका शिक्षाध्यक्ष डा.भिम खतिवडाले आगोको झिल्का सानो भएजस्तै विद्रोहका झिल्काहरु पनि सुरुमा साना हुने र पछि ठूलो रुप लिने बतए ।

नेकपा (मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले समाज र संस्कृति एक दिनमा परिवर्तन नहुने तर प्रयत्नहरु निरन्तर भइरहेको बताए । युरोपमा पुनरजागरण नआएको कारणले नेपाली समाज पछि परेको बताए । उनले अगाडि थपे,‘मैले मृत्यु संस्कार विरुद्ध विद्रोह गर्दा पनि ब्लेड र काम्लो बोकेर वामपन्थीहरु नै आएका थिए ।’

त्यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य किसन शर्माले साँस्कृतिक रुपान्तरणका लागि मुख्य कुरा इच्छाशक्ति भएको बताए । साथै उनले संस्कारहरुको बारेमा यस्ता अवसरहरुमा मात्र होइन, अरु बेलामा पनि छलफल चलाइराख्नुपर्ने र वैकल्पिक संस्कृतिको बारेमा काम गर्नुपर्ने बताए ।

मृतक योधनकृष्ण उपाध्यायका छोरा तथा प्रतिरोधका संयोजक प्रमोद धितालले परम्परागत मृत्यु संस्कार आर्थिक रुपले बोझिलो, सांस्कृतिक हिसावले अवैज्ञानिक तथा मानसिक हिसाबले उत्पीडनकारी र भाग्यवादी भएकाले यसलाई बहिष्कार गरेको बताए ।

साथै उनले अरुले जस्तै आफूले पनि भाग्यवादको पोखरीमा ढुङ्गा प्रहार गरेको कुरा व्यक्त गर्दै गरुड पुराण भाग्यवाद र विभेदकारी चिन्तनको स्रोत भएको पनि बताए । प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रीता सुवेदीले गरेकी थिइन् ।