काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरी गठबन्धन तोडेको भन्दै बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।
“हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।”
प्रधानमन्त्रीले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको कांग्रेसको जिकिर छ । “नेपाली कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार रह्यो । कांग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको हो,” लेखकले भने, “तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कपोलकल्पित,भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघात र बेइमानीका रूपमा लिएका छौँ ।”