काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भर्खर बनेको गठबन्धन भत्काउने कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन् ।
ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे । सरकारबाट हट्न नपाउँदै जो–जो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम कांग्रेसले गरिरहेको उल्लेख गर्दै उनले त्यो सत्ताबाट अप्रत्याशित रूपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको बताए ।
बुधबार अपराह्न पार्टी मुख्यालय च्यासलमा संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस जिम्मेवार पार्टीका रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोपसमेत लगाए । कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले कांग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’ को नीति लिन पनि सुझाव दिए ।
उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पारे । अब यो विकल्प पनि कम भएको र प्रणालीसमेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरूले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नुपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।
उपमहासचिव ज्ञवालीले गएको १४ महिना कांग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताए ।