• जेष्ठ ५ २०८३, मंगलवार

त्रिशूलीमा बस खस्दा चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

फाल्गुन २३ २०८०, बुधबार

मलेखु । काठमाडौंको त्रिशूली नदीमा बस खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा खटिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।