काठमाडौँ । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नु परेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकलगत्तै सञ्चारकर्मी माझ उनले सो प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरूले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए । आफूहरूलाई बहाना बनाएर प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । उनले आफूले प्रधानमन्त्री प्रचण्डकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए ।
उनले भने,‘यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरूको आफ्नो मक्सद होला । त्यसको चाहिँ कारण होला । तर हामी कारण होइन । नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली कांग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरू नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन ।’
प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरू नै केही भएको पनि बताए ।