• फाल्गुन २९ २०८२, शुक्रबार

गण्डकीमा माओवादीका २ मन्त्री हटाइए, ‘माथि जे भयाे यता पनि त्यहि भयाे’

फाल्गुन २२ २०८०, मंगलवार

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बर्खास्त गरेपछि गण्डकीमा माओवादीका दुवै जना मन्त्रीहरूले मन्त्रालय छोडेका छन् । मंगलबार बिहान पाण्डेले उनीहरूलाई हटाएर मन्त्रीमण्डल पुनर्गठनको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।

सामाजिक विकास मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पाण्डेले बर्खास्त गरेका हुन् । पाण्डेले मन्त्रीहरूलाई फोन गरेर हटाइएको जानकारी पगराएका थिए । ‘माथि जे भयो यता पनि त्यही भयो । तपाईंहरुलाई हटायौँ भन्नुभयो,’ जुग्जालीले मुख्यमन्त्रीलाई उद्धृत गर्दै भने, ‘अब उहाँलाई समय भयो भने भेटेर निस्किन्छु । मन्त्रालयबाट चाहिँ निस्किएँ ।’

सामाजिक मन्त्री सिंखडा पनि मन्त्रालयबाट निस्किने तयारीमा रहेको बताइन् । ‘मन्त्रालयमै एउटा कार्यक्रममा थिएँ । मुख्यमन्त्री ज्यूको फोन आयो,’ उनले भनिन्, ‘अब निस्किन लागिरहेको छु ।’

दुवै जना मन्त्रीले संसदीय दलमा पनि आफू बर्खास्त भएको जानकारी गराइसकेका छन् । मन्त्री बर्खास्त गरिसकेपछि अब कसरी अघि बढ्ने भन्ने टुङ्गो माओवादीमा छैन । केन्द्रको निर्देशन नआएका कारण केही समय अलमल भएको दलका नेता हरिबहादुर चुमानले बताए ।

‘मन्त्री बर्खास्त भएपछि समर्थन अहिले नै फिर्ता लिए पनि हुने हो । तर माथिबाट के आउँछ हेरौँ,’ उनले भने, ‘कांग्रेसले नै सजिलो बनायो । उनीहरूले नै सुरु गरेपछि हामीलाई सजिलो भयो ।’