काठमाडौं । आज बनेको नयाँ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार अपराह्न ४ बजेबाट सुरू भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत छन् ।
उनीहरूबीच गठबन्धनको सरकार सञ्चालन सम्बन्धी अवधारणा, मन्त्रालय, प्रदेशहरूको भागबन्डा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गठबन्धन अनुसार सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी छ । बिहान भएको समझदारी अनुसार माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्रबाट हितबहादुर गुरूङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्रीको शपथ ग्रहण गर्दैछन् । उनीहरूले साँझ ५ बजे शपथग्रहण गर्नेछन् । मन्त्रालयको टुंगो नलागेकोले उनीहरूले बिनाविभागीय मन्त्रीको शपथग्रहण गर्नेछन् ।