• जेष्ठ ५ २०८३, मंगलवार

सडक व्यापारीसित माफी माग्न मेयर बालेनलाई नागरिक अगुवाको आग्रह

फाल्गुन २० २०८०, आईतवार

२० फागुन, काठमाडौं । नागरिक अगुवाले सडक व्यापारीमाथि बल प्रयोगप्रति माफी माग्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहलाई आग्रह गरेका छन् ।
३० भन्दा बढी नागरिक अगुवाले आइतबार मेयर साहलाई खुला पत्र लेखेर सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।

‘साथै महानगरले पीडितप्रति माफी मागी उनीहरुलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ’ खुलापत्रमा भनिएको छ । त्यस्तै विपन्न जनताप्रति विभेदकारी तथा बहिस्करणकारी नीति त्यागेर सडक व्यापारी लगायत विभिन्न नागरिकको आत्मसम्मान, मर्यादा र जीविकोपार्जनको अधिकार संरक्षण गर्न पनि नागरिक अगुवाले आह्वान गरेका छन् ।

यसरी आह्वान गर्ने नागरिक अगुवामा अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल विक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईं, जेबी विश्वकर्मा, दिनेश त्रिपाठी, धनबहादुर मिजार लगायत रहेका छन् ।