• जेष्ठ ५ २०८३, मंगलवार

चितवन घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न कांग्रेसको माग

फाल्गुन १९ २०८०, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले चितवनमा बालिका मृत फेला परेको घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । शनिबार विज्ञप्ति जारी गरेर बालिकाको मृत्युसँग जोडिएको शंकास्पद विवरणप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य बाहिर ल्याउन सरकारसँग आग्रह गरेको हो ।

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैमा अत्यन्तै दुःखद त भएको छ । झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।’ कांग्रेसले बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटनापछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् । सालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप भएको छ ।