काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले ललितपुरको बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै आजपनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू सिटबाट उठेर दोषी मन्त्रीको राजीनामा माग गर्दै अवरोध जनाएका हुन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यथापालाई बोल्नका लागि समय दिएका थिए । उनले सरकारी प्रतिवेदनले बालकुमारी घटनामा दोषी ठहराएका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त किन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो भन्दै प्रश्न समेत गरे ।
‘बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोकेको हो,’ उनले भने,‘सरकार जिम्मेवारी भएन । सरकार हरायो । प्रधानमन्त्रीको खोजि हुनुपर्यो । खोजि गर्नका लागि संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद स्थगित गर्नुपर्ने हो ।’
उनले लघुवित्त, सहकारी र दुग्ध किसानका मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए ।