काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज र सह-इञ्चार्जहरु तोकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा दुई दिनसम्म बसेको माओवादी स्थायी कमिटी बैठकका निणर्य सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्चार्ज र सह-इञ्चार्जहरू तोकिएको जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको इञ्चार्जमा हरिबोध गजुरेल र सह-इञ्चार्जमा सावित्री कुमारी काफ्ले तोकिएका छन् । यसैगरी मधेश प्रदेशको इञ्चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह-इञ्चार्ज बनाइएको छ । बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ । सह-इञ्चार्ज तोक्न बाँकी छ । गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्ज र हरिराज अधिकारी सह-इन्चार्ज रहेका छन् ।
लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्चार्ज र कुलप्रसाद केसीलाई सह-इञ्चार्जको जिम्मेवारी दिएको छ । कणर्ाली प्रदेशमा कालीप्रसाद मल्ल इञ्चार्ज बनाइएको छ । सह-इञ्चार्ज तोक्न भने बाँकी छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इञ्चार्ज र बिना मगरलाई सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रवास प्रदेश समितिको मध्यपुर इञ्चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ । प्रवास प्रदेश समिति भारतको इञ्चार्जमा लक्ष्मण पन्त र सह-इञ्चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ ।
प्रवास प्रदेश समिति युरोप-अमेरिका लगायतको इञ्चार्जको जिम्मेवारी सुरेन्द्रकुमार कार्कीलाई दिइएको छ । विशेष प्रदेश समितिको इञ्चार्जको जिम्मेवारी हितमान शाक्य र सह-इञ्चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैशाख १५ गतेदेखि गर्ने निणर्य गरेको छ ।
कार्यविभाजनको विषयलाई लिएर उपमहासचिव जनार्दन शर्माले भने असन्तुष्टि जनाउँदै फरक मत राखेका थिए । ‘मैले आफ्नोतर्फबाट निणर्यमाथि असमत दर्ज गरेको छु । कार्यविभाजन जसरी गरियो सहि भएन । पार्टी निर्माणको उद्देश्य लिएर भएन । विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्ने म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारी बिहीन बनाइएको छ ।’
बैठकपछि उनले भने,‘सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह-इञ्जार्ज बनाइएको छ ।’