काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी ०८४ सालमा मा हुने निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ ।
बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निणर्य गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए ।
नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निणर्य गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो ।
त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन् । ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ ।’
त्यस्तै, कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा सापकोटाले माओवादी केन्द्र आफैंले उक्त पद दाबी गर्ने बताए ।
‘अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष छोड्न हुन्न भनेर कुरा उठाएका थिए । आज पनि उम्मेदवारी दिने भनेर निणर्य भएको छ,’ उनले भने ।