• जेष्ठ ५ २०८३, मंगलवार

भ्रष्टाचारको आरोप लागेपछि माओवादी कोषाध्यक्ष गगन पुरीले दिए राजीनामा

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौं । माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।

सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको थियो । त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

झापाको दमक नगरपालिका वडा नम्बर १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा ९ जना सरकारी कर्मचारीसहित १८७ जना विरूद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो । उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ । यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । दमकको जग्गा प्राप्तीबारे उनले विज्ञप्तिमार्फत् प्रष्टिकरण समेत दिएका छन् ।

उनका बुबा भगवान पुरीले २००२ सालदेखि जंगल फडानी गरी करिब ६० बिगाहा जमिन जोतभोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४-१४-१० गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनीपुर्जा तत्कालीन श्री ५ को सरकारबाट प्राप्त गरेको पुरीले दाबी गरेका छन् ।

उनले त्यसरी प्राप्त गरेको पैत्रिक जमिनमाथि कानुनी अड्चन पैदागरी विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा गलत प्रचारबाजी भइरहेको बताए । आफूले गैरकानुनी काम नगरेको पनि बताएका छन् ।

‘वास्तवमा हामी सबै जना निर्दोष छौं र अन्यायमा परेका छौं । यस घटनाको बारेमा सत्यतथ्य छानबिन हुन जरुरी छ,’ उनले भनेका छन् ।