• जेष्ठ ५ २०८३, मंगलवार

दिवंगत गायक तथा सङ्गीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जलि दिइँदै

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौं, फागुन १५ गते । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण गरिन् । प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताइन् । साथै उनले केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिइन् ।

आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । प्रतिष्ठानकी कुलपति शर्माले गीत-सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधै खड्किरहने बताइन् ।

आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’ लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै छन् ।

उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । वि.सं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा मत्वपूर्ण योगदान छ ।