• मंसिर १४ २०८१, शुक्रबार

लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गर्नु सुरक्षा लापरबाही भएको गृहको निष्कर्ष

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नु गम्भीर सुरक्षा लापरबाही भएकोे निष्कर्ष निकालेको छ । तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ ।

घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयसमेत गरेको छ । गृहको निर्णयलगत्तै प्रहरी प्रधान कार्यालयले त्यहाँ खटिएका ३२ जना प्रहरीलाई हटाएर संसद भवनको सुरक्षार्थ नयाँ टोली खटाएको छ ।

घटना भएपछि सोमबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरूको आकाश्चिमक बैठक डाकेका थिए । गृह मन्त्रालयमा भएको उक्त बैठकले निषेधित क्षेत्र तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नुले ठूलो सुरक्षा चुनौती खडा गरेको निष्कर्ष निकालेको स्रोतले बताएको छ । तर, गृह मन्त्रालयले चाहिँ गृह मन्त्रीले सुरक्षा प्रमुखहरूसँग गरेको छलफललाई नियमित भनेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षा प्रमुखहरूसँग नियमित बैठक अन्तर्गत छलफल भएको बताए । उनले सोमबार संसद भवनमा भएको घटनाका विषयमा गम्भीर समीक्षा भएको बताए । ‘संसदजस्तो संवेदनशील क्षेत्रमा कसरी सुरक्षा लापरबाही भयो भन्ने विषयमा समीक्षा भयो । प्रहरीले यस विषयको छानबिन गर्दैछ । छानबिनपछि गृहले अन्य प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने ।

सुरक्षामा खटिएकाहरूबाटै लापरबाही भएपछि मन्त्री श्रेष्ठले नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् । बैठकमा गृह सचिव दिनेश भट्टराई र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पनि सहभागी थिए ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका लघुवित्त र मिटरव्याज पीडितहरूले सोमबार निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गरेका थिए । उनीहरूले न्याय माग गर्दै संसद भवन प्रवेश गरेका थिए । संसद भवनमा उनीहरूलाई प्रहरी र मर्यादापालकहरूले रोकेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले निषेधित क्षेत्र तोडेको आरोपमा ४९ जनालाई नियन्त्रणमा लिएको बताए ।

घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी छन् ।

यसैबीच प्रहरी प्रधान कार्यालयले संसद भवनको सुरक्षार्थ खटिएका ३२ जना प्रहरीलाई त्यहाँबाट हटाएको छ । संवेदनशील क्षेत्रमा गम्भीर सुरक्षा लापरबाही गरेको भन्द त्यहाँ खटिएका प्रहरी अधिकारीहरूलाई हटाएको हो । यस विषयमा सभामुख देवराज घिमिरेले पनि चासो राखेका छन् । उनले गृहमन्त्री श्रेष्ठ र आइजीपी कुँवरसँग घटनाबारे जानकारी लिएका थिए ।