• जेष्ठ ५ २०८३, मंगलवार

कलाकार डंगोलको टोलीद्वारा जाजरकोटका भूकम्प पीडितलाई राहत वितरण

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भूकम्प पीडितलाई राहत वितरण गरिएको छ ।

गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १० बिजुलीको सुविधाबाट बञ्चित रग्दाका स्थानीय भुकम्प पीडितलाई राहत वितरण गरेको हो ।

कलाकार अशेष डंगोलको टोली (पत्रकार रिदेन महर्जन, देवी राना, नितेश ढकाल) ले जाजरकोटको नलगाड नगरपालिकाको भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर वडा नं. १० रग्दाका स्थानीय बासिन्दालाई ओढ्ने सिरक करिब ६० घरधुरी (३ सय भन्दा बढि व्यक्ति) तथा १६ जना सुत्केरी महिलाहरुलाई खास्टो वितरण लगायत आर्थिक अवस्था न्यून भएका परिवारलाई छानेर खाद्यान्न तथा आर्थिक सहयोग प्रदान समेत प्रदान गरिएको छ ।

राहत वितरण कार्यक्रममा रग्दा जस्तो विकट स्थानमा इतिहासमै पहिलो पटक कलाकार अशेष डंगोलले गितार र स्थानीय कलाकार रामबहादुर नेपालीले नगडामा अशेष डंगोलले रचिएको नयाँ गीत प्रस्तुत गरेका थिए । मादलमा अशोक रावतले साथ दिएर बेजोड शैलीको सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।

सोही क्षेत्रको भूकम्पले जिर्ण अवस्थामा रहेको श्री जनएकता प्राथमिक विद्यालयको प्रगति तथा विध्यालयमा अध्ययनरत स-साना बालबालिकाको उज्वल भविष्यको कामना गरी सय जना विद्यार्थीहरुलाई पुग्ने स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।