काठमाडौं । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफै भ्रष्टाचारको माध्यम बनिरहेको दाबी गरेका छन् ।
राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाइ छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे ।
उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन् ।
क्यान्सर रोगको पीडाबाट मुक्त भएकी उनले किशोरीहरुलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए ।
उनले काठमाडौं उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए ।