११ फागुन, काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एकजना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिबेर खेलाउने भन्दै बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।
प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको बताए ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुासर, पीडित महिला ओपीडी चेकँजाचको लागि अस्पताल पुगेकी थिइन् ।
‘पार्किङ क्षेत्रमा चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन जानु भएको रहेछ,’ डा. अधिकारीले भने, ‘तर आउँदा महिला हिँडिसक्नुभएको रहेछ ।’