काठमाडौं । नेकपा एमालेले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न सरकारसित माग गरेको छ । पार्टी कार्यालयमा च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे निर्णय गर्दै मन्त्रीहरूको बर्खास्ती माग गरेको हो ।
एमालेले टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको हो । सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको एमालेको आरोप छ ।
‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ। सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ । गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिएको छ । सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिएको छ । विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गर्दै गरिएको छ । गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरूपण आम विषय बनेको छ,’ निर्णयमा भनिएको छ ।
त्यस्तै एमालेले सरकारका गलत नीति र भ्रष्ट क्रियाकलापका कारण मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको आरोप लगाएको छ । आर्थिक वर्षको ७ महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित भएको र राजस्वले चालू खर्चसमेत धान्न सकेको अवस्था नरहेको भन्दै एमालेले सरकारको चर्को आलोचना गरेको छ ।
‘सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ । विकास निर्माणका काम ठप्प छन् । निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका कामको भुक्तानी पाउनसकेका छैनन् । चर्को ब्याजदर, झन्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरू हतोत्साही अवस्थामा छन् ।
धेरै व्यवसायहरू बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यो बैठक गहिरिँदो आर्थिक संकट र बिग्रँदो व्यवसायिक वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।