काठमाडौं । भारतमा केही राज्यले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । भारतको दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन-बी भेटिएपछि गत हप्ता कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथि प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन् ।
भारत लगायत विश्वका विभिन्न देशमा कटन क्यान्डी खानेकुरा बालबालिका माझ परिचित छ । तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारी पी सतिश कुमारले कपास क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताए ।
रोडामिन-बी रसायनले क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ । युरोप र क्यालिफोर्नियामा खाने रङ वा फुड डाइको रूपमा यसको प्रयोग अवैध छ । नेपालमा पनि गत माघ १३ गते काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । महानगर क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको थियो ।