काठमाडौं । विराटनगर जुट मिल्समा मंगलबार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाका अनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको हो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरू समेत निरीक्षण गरेर गएको बताए । उनले सरकारले आगामी वैशाखबाट मिल्स पुन: सञ्चालन गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरूले आगलागी गराएको आशंका रहेको बताए ।
उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए । विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए ।
उनले लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका रहेको बताए । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेबाट आगलागि भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए ।
उनले आगलागीबाट तीनवटा पुराना मेसिनहरू नष्ट भएको पाइएको बताए । उनले आगलागीमा २० लाख बराबरको क्षति भएको बताए । उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताए ।
प्रहरीका अनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।