• मंसिर १५ २०८१, शनिबार

भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिल्यै भन्ने कुरा होइन : देउवा

फाल्गुन ७ २०८०, सोमबार

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् ।

सोमबार ललितपुरको गोदावारीमा सुरू भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन । प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।’

सभापति देउवाले कांग्रेसको विधानलाई समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे । उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशील दस्तावेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उनले उल्लेख गरे ।