• मंसिर १५ २०८१, शनिबार

पुँजीपतिहरु सहकारीमा छिरेर ठगी धन्दामा लागेका कारण सहकारीमा समस्या आयो : केपी ओली

फाल्गुन ७ २०८०, सोमबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी धन्दामा लागिपरेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला-२०८० लाई सम्बोधन गर्दै ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताए ।

‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त उद्योग व्यवसाय चलाउने हो, सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने, ‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् ।’

उनले नेपालमा सहकारीको विपक्षमा रहेकाहरू सहकारीमा आबद्ध हुँदा सहकारीहरू सङ्कटमा परेको बताए । ठुला र धेरै पैसा जम्मा गर्नेहरू सङ्कटमा पर्दा धेरै मानिसको पैसा डुब्दा सहकारीप्रति आशङ्का उब्जेको ओलीको भनाइ छ ।

‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे । जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भने, ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केही मान्छेले पैसा कमाए होलान् । इज्जत गुमाए होलान् ।’ त्यस्ता व्यक्तिहरूका कारण सहकारी क्षेत्र बदनाम भएको ओलीको भनाई छ ।