मस्को । युक्रेनको पूर्वीशहर आभ्डिभ्कालाई रुसले कब्जामा लिएको छ । शनिबार युक्रेनले आफ्ना सेनाहरू आभ्डिभ्काबाट फिर्ता बोलाएको घोषणा गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महत्वपूर्ण जित हासिल गरेको प्रतिक्रिया जनाएका छन् ।
महिनौँको भीषण लडाइँपछि आफ्ना सैनिकहरूलाई फिर्ता बोलाइएको युक्रेनले बताइरहेको छ, तर ती सैनिकहरू हतियारको अभावपछि आभ्डिभ्का शहर छाड्न बाध्य भएका हुन् । किनभने अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिनअगाडि मात्र हतियारको अभावमा युक्रेनले आभ्डिभ्का शहर गुमाउन लागेको बताएका थिए ।
उनले युक्रेनलाई दिने भनिएको ६० अर्ब डलर बराबरको सहायता प्याकेज अमेरिकी कङ्ग्रेसबाट पारित गर्न सबै सांसदलाई आग्रह गरेका थिए । यस्तै, राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले पनि रुसी सेनाले युक्रेनसँग हतियार पर्याप्त नहुनुको फाइदा उठाउँदै धेरैभन्दा धेरै सैनिक त्यहाँ पठाइरहेको बताएका थिए ।
रुससँगको युद्धमा युक्रेनको प्रमुख साझेदार राष्ट्र अमेरिकाबाटै युक्रेनले पछिल्लो समय हतियार पाइरहेको छैन । अमेरिकी सरकारका प्रस्तावहरू कङ्ग्रेस र सिनेटमा बारम्बार अस्वीकृत भइरहेका छन् ।
आभ्डिभ्का शहर बाख्मुत शहरदेखि ९२ किलोमिटर टाढा छ । बाख्मुत शहर भने गतवर्षको मे महिनामै रुसी सेनाले कब्जा गरेको थियो । रुसमा राष्ट्रपतिको निर्वाचन हुन एक महिनाअगाडि आभ्डिभ्का शहर रुसको कब्जामा गएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उम्मेदवारी दिएका छन् ।
उनी नै पुनः राष्ट्रपति बन्ने विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । त्यसो त पुटिनको उदयपछि रुसमा राष्ट्रपतिको निर्वाचन औपचारिकता मात्र भएको बताइन्छ, किनभने उनलाई कडा टक्कर दिने उम्मेदवार चुनावमा उठेको पाइएकै छैन ।