• मंसिर १२ २०८१, बुधबार

हाम्रा वैज्ञानिकहरु क्यान्सरको खोप विकासको नजिकै पुगिसकेका छन् : पुटिन

फाल्गुन ४ २०८०, शुक्रबार

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सर खोप विकासमा नजिक पुगिसकेको बताएका छन् । मस्को फोरम अन फ्युचर टेक्नोलोजी कार्यक्रममा पुटिनले रुसले चाँडै क्यान्सर खोप तयार गर्ने र त्यो बिरामीहरूलाई उपलब्ध गराउने वाचा गरेका हुन् ।

पुटिनले कुन प्रकारको क्यान्सरको खोप उपलब्ध हुन लागेको हो भनेर नखुलाएको रोयटर्सले जनाएको छ । यद्यपि, रुसले कुनै एक क्यान्सरको खोप बनाएकोमा विश्वभरका स्वास्थ्यकर्मीले खुसी व्यक्त गरेका छन् ।

वास्तवमा क्यान्सर रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । शरीरमा कोषिकाहरूको असामान्य वृद्धिले गर्दा क्यान्सर हुन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार वर्षेनि करिब एक करोड मानिस यो रोगबाट मर्छन् ।

क्यान्सर धेरै प्रकारको हुन्छ । यद्यपि, सबैभन्दा सामान्यमा स्तन, कोलोन क्यान्सर, प्रोस्टेट र फोक्सोको क्यान्सर हुन् । पुटिनले क्यान्सरको खोपबारे भनेका छन्, ‘हामी क्यान्सर भ्याक्सिन औषधिहरूको निर्माणको धेरै नजिक पुगेका छौँ । मलाई आशा छ कि चाँडै नै तिनीहरू प्रभावकारी रूपमा व्यक्तिगत उपचारको विधिका रूपमा प्रयोग हुनेछन् ।’

रुसले मात्र नभएर धेरै देश र कम्पनीहरूले क्यान्सर खोपमा काम गरिरहेका छन् । बेलायत सरकार बायोएनटेक कम्पनीसँग मिलेर काम गरिरहेको छ भने अमेरिकाले मोडेर्ना र मर्क कम्पनीसँग मिलेर छाला क्यान्सरको खोप निर्माण गरिरहेको छ ।