• मंसिर १५ २०८१, शनिबार

पाकिस्तानमा शरीफकाे नेतृत्वमा संयुक्त सरकार बनाउने तयारी

फाल्गुन २ २०८०, बुधबार

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग (पिएमएल-एन) का नवाज शरिफले आफ्ना कान्छा भाई एवं पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई प्रधानमन्त्री बनाउने तयारी गरेका छन् ।

पिएमएलको नेतृत्वमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी भइरहेको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ । गठबन्धनबाट शहवाजलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको हो । यस्तै, पञ्जाबको मुख्यमन्त्रीमा नवाजले आफ्नी छोरी मरियम नवाजलाई बनाउने प्रस्ताव गरेका छन् ।

पिएमएललाई बिलावल भुट्टोको नेतृत्वको पाकिस्तान पिपल्स पार्टी पार्लियामेटरियन्स (पिपिपी), मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तान(एमक्युएम-पी), पाकिस्तान मुस्लिम लिग (पिएमएल-क्यु), इस्तेकाम-इ-पाकिस्तान पार्टी (इपिपी) र बलोचिस्तान अवामी पार्टी (बिएपी)ले समर्थन गरेको हो ।

प्रत्यक्ष निर्वाचनतर्फबाट ६ दलीय गठबन्धनबाट कुल १५२ सिट जितेको छ । ३३६ सदस्य रहने राष्ट्रिय सभामा सरकार बनाउन १६९ सिट आवश्यक छ । प्रत्यक्षतर्फबाट १५२ सिट हासिल गरे पनि आरक्षितबाट ६० महिला र १० अल्पसंख्यक सदस्यहरू पनि गठबन्धनको तर्फबाट चुनिनेछन् । त्यसपछि बहुमत पुग्ने भए पनि दुई तिहाइ बहुमत पुर्‍याउँछन् वा पुर्‍याउँदैनन् भन्ने हेर्न बाँकी नै छ । अझै दुई सिटको मत परिणाम आउन बाँकी नै छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र निर्वाचित सदस्यहरू मजलिस-इ-वाहदतुल मिलिमिन (एमडब्ल्युएम) मा प्रवेश गरेका छन् । यस पार्टीले पनि समानुपातिकतर्फबाट महिला र अल्पसंख्यक सदस्यहरू दाबी गरेको छ । यद्यपि एमडब्ल्युएमले एउटामात्रै सिट जितेको छ । पिटिआईले भने महिलातर्फ १० सिट पाउने देखिन्छ ।