• जेष्ठ ६ २०८३, बुधबार

प्रत्यक्ष निर्वाचित प्रणालीबाट दायाँबायाँ हुनुहुँदैन : रञ्जित तामाङ

फाल्गुन १ २०८०, मंगलवार

काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले प्रत्यक्ष निर्वाचन प्रणालीबाट दायाँबायाँ गर्न नहुने बताएका छन् । मंगलबारदेखि सुरु भएको विधान अधिवेशनको तयारीमा रहेका उनले प्रत्यक्ष निर्वाचित प्रणालीबाट पछि हट्न नहुने बताएका हुन् ।
विधानलाई बस्तुसङ्गत र समय सापेक्षिक सङ्गठन बनाउने विधान विधिका आधारबाट पार्टी सङ्गठन चलाउनु नै पार्टीका लागि हितकर हुने उनको बुझाइ छ ।

‘विधान पार्टीको संविधान जस्तो भएकाले सबैले पालना गर्ने र सबैले मान्ने साङ्गठनिक संरचना बनाउनुपर्छ । देशलाई सिस्टममा चलाउँछु भन्नेले पार्टीलाई पनि सिस्टममा चलाउनुपर्छ । यस हिसाबले विधान अधिवेशनमा गम्भीर छलफल हुन्छ । प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हामी दायाँबायाँ हुँदैनौं’, उनले भने ।

विधान अनुसार पार्टी सङ्गठन नचल्दा समस्या आएको भन्दै यो पटक विगतका अनुभव, जनवादी केन्द्रीयताको अभ्यास, शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न निर्वाचन, शान्ति प्रक्रियामा भएका काम र साङ्गठनिक जटिलता लगायत सबै विषयको समीक्षा गरेर जाने उनले बताए ।

‘आजको सन्दर्भमा विज्ञान र प्रविधिसम्मत, समकालीन राजनीति दलहरूको कार्यशैली, सङ्गठनात्मक पद्धति सबै कुरालाई हेर्दा हामीले सबैभन्दा राम्रो र व्यवस्थित पार्टी सञ्चालन गर्ने कुरालाई ध्यान दिनुपर्छ’, उनले भने, ‘यो अधिवेशनमा पार्टीलाई नवीकरण गर्ने, नयाँपन दिने, पुनरताजकी गर्ने कोणबाट हामी युवाहरूले भूमिका निर्वाह गर्छौँ । वैज्ञानिक समाजवादी पार्टी कार्यकर्तालाई गफ दिने होइन । विज्ञानसम्मत रूपमा कार्यान्वयन हुनुपर्छ । यही अनुसार पार्टीलाई रूपान्तरण र परिवर्तन गर्दै लैजानुपर्छ ।’

तामाङले पुरातन सोचबाट पार्टी अगाडि बढ्न नसक्ने तर्क गर्दै तत्काल प्रत्यक्ष निर्वाचनमा जान सकिँदैन भने १० वा २० वर्षको समयावधि तोक्न सकिने बताए । समाजवादी कार्यदिशा अङ्गाल्ने पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्ने, संविधान निर्माणमा फरक मत राख्ने, आज पनि त्यसको सान्दर्भिकतामाथि प्रश्न उठाउने अनि पार्टीभित्र प्रत्यक्ष निर्वाचित प्रक्रियाको विरोध गर्न नमिल्ने उनले तर्क गरे ।