काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आज सुरु हुँदैछ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने सम्मेलन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ ।
सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।
जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो ।