• जेष्ठ ६ २०८३, बुधबार

छोरीसित बसेको देखेपछि खुकुरी प्रहार गरी किशोरको हत्या, ३ जना पक्राउ

माघ २९ २०८०, सोमबार

चरिकोट । दोलखामा छोरीको साथमा देखेपछि आफन्तले एक युवकको हत्या गरेका छन् । शैलुङ गाउँपालिका-४ का १८ वर्षीय भीष्म भण्डारीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैलुङ गाउँपालिका-५ का पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली छन् । जिल्ला प्रहरी कार्यालय आइतबार घटनाबारे सार्वजनिक गरेको हो ।

डिएसपी खड्काका अनुसार पुस ११ गते इश्वरकी छोरी र भीष्‍मसँगै फेला परेका थिए । भीष्मको शव पुस १६ गते शैलुङ गाउँपालिका-५ मा फेला परेको थियो । अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई माघ ७ र ८ गते नै पक्राउ गरेको थियो तर अहिलेमात्रै घटना सार्वजनिक गरेको हो ।

पक्राउ परेका तीन जनाले भीष्मको हत्या गरेको बयान दिइसकेका छन् । प्रहरीका अनुसार भीष्म र नाबालिकाबीच पुस १ गतेमात्रै चिनजान भएको थियो । त्यहीबीच पुस १० गते नाबालिका घरमा एक्लै हुँदा भीष्म पनि त्यहाँ पुगेका थिए । घर-परिवारले भीष्मलाई देखेपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको हो ।

ढाडमा खुकुरी प्रहार गरी बेहोस भएपछि घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको हो । परिवारले मापसे गरेको र आवेगमा आएर हत्या गरेको बयान दिएका छन् । पुस्कर नेपाली नाबालिकाको बुबा हुन्, भने इश्वर ठूलोबुबा र विशाल दाइ पर्छन् ।