• मंसिर १५ २०८१, शनिबार

मातृका यादवको रिपोर्टिङ-नेताहरू जाँड, रक्सी र जुवामा, कार्यकर्ता धम्की र घुर्कीमा

माघ २८ २०८०, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफू इन्चार्ज रहेको  कर्णाली  प्रदेशको पार्टी कमिटीमा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका छन् ।

पार्टी केन्दीय समितिको पाँचौँ पूर्ण बैठकमा रिपोर्टिङका क्रममा प्रदेश इन्चार्जसमेत रहेका यादवले  कर्णालीमा संगठन राम्रो भए पनि कार्यकर्तामा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका हुन् ।
‘कर्णाली  प्रदेशमा हाम्रो पार्टीको सबैभन्दा राम्रो संगठन छ । विशेषताका हिसाबले पनि फरक छ, तर साथीहरूको चिन्तनमा समस्या छ’, यादवले बैठकमा भने, ‘पार्टीको कार्यकर्ता पंक्तिमा धम्की र घुर्की देखाउने चलन देखिन्छ भने नेताहरूमा जाँड, रक्सी र जुवामा रमाउने संस्कार देखिन्छ । यस्तै लेबी शुल्क नबुझाउने समस्या पनि अन्य प्रदेशको जस्तै छ ।’

तर पार्टीका सबै कमिटीमा निणर्य भएको कुरा लागू गर्न भने सबै लाग्ने गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । उनले  कर्णालीमा पार्टी क्रान्तिको साधन हुन नसकेको, बरु नेता र कार्यकर्ता व्यवस्थापन गर्ने साधन जस्तो भएको उनले रिपोर्टिङ गरेका छन् ।

यस्तै पार्टीको  कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जाजरकोट-रुकुम भूकम्प पश्चात सरकारले इतिहासमै छिटो पहलकदमी लिएको र त्यसले जनतामा उत्साह आएको बताइन् ।
उनले पार्टीको चार महिने रुपान्तरण अभियानका क्रममा  कर्णालीका ९ लाखमध्ये ६ लाख मतदातसम्म पार्टी पुगेको बताइन् ।

‘अभियानले नेता कार्यकर्ताका कार्यक्षमता पहिचान गर्ने नयाँ अवसर प्राप्त भएको छ’, अध्यक्ष केसीले भनिन्, ‘केन्द्रीय नेताहरुलाई अन्तर जिल्ला कार्यविभावन गर्नुपर्छ । अभियान समापन होइन, भर्खरै उद्घाटन भएको छ ।’