काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलास्थित तिंकर नाकामा चीनले तीर्थयात्रीलाई रोक्न थालेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले विगतमा पास लिएर आवतजावतको व्यवस्था भए पनि पछिल्लो समय कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई चीनले रोक्न थालेको बताए ।
‘उत्तरी सीमानाकाको कुरा गर्नुपर्ने भयो । कोरला नाकाको कुरा आएको छ, अन्यको आएन,’ उनले भने, ‘तिंकर नाकामा पनि विगतमा पास लिएर आउजाउ गर्ने गरेकोमा पछिल्लो समय कैलाश तीर्थयात्रीलाई रोक्न थालिएको छ ।’
उनले एयरपोर्टमा सुरक्षा र कर्मचारी प्रशासनको घटनामा प्रहरीलाई मात्र कारबाही भएको हो ? भन्दै प्रश्न गरे । आउँदा दिनमा यस्तो समस्या नआउने भएको हो ? भन्ने उनले बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरे ।