• मंसिर १५ २०८१, शनिबार

भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई सरकारको पूर्ण समर्थन हुन्छ : प्रधानमन्त्री दाहाल

माघ २८ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्धनमा महत्त्वपूणर् भूमिका निर्वाह गर्दै आएको बताए ।

‘माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन,’ प्रधानमन्त्री  दाहालले बताए ।

सुशासन प्रवर्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको बताए ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ ।