काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० भव्यतापूर्वक मनाउने निणर्य गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकबाट दिवसका अवसर पारेर आउँदो फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निणर्य गरिएको हो ।
फागुन ६ गते प्रजातन्त्र दिवसकेन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइनेछ ।
राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषांक/स्मारिका प्रकाशन एवम् प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख-रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निणर्य बैठकबाट गरिएको छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूणर् सरकारी निकाय, प्रतिष्ठान, संघ-संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दरबार स्क्वायरजस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गरिनेछ ।
दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिँखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ गरिनेछ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गरिनेछ ।
टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गरिनेछ ।