काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै जावाफ फर्काएका छन् ।
आज बसेको संसद् बैठकमा रविले नयाँ दलले प्रश्न उठेका सांसदलाई ७२ घण्टाको समय लिएर कारबाही गरेको भन्दै आफ्नो दलमा त्यस्तो गरेर देखाउन चुनौती समेत दिएका छन् ।
उनले नागरिकता किर्ते गर्नेलाई पनि दलीय आधारमै संरक्षण गरिएको टिप्पणी गरे । “नागरिकता किर्ते गर्नेलाई कारबाहीमा ल्याउने हो कि ?,” रविले भने । उनले सबै विषय उठाउँदै जाँदा लामो समय वित्ने भन्दै त्यतातिर नलाग्न पुराना दलहरुलाई आह्वान गरे ।
लामिछानेले चुनाव हारेका नेतालाई फेरि राष्ट्रियसभामा ल्याउन अगुवाइ गरेको आरोप लगाए ।
“यदि, घोचपेच र ज्ञान बाँड्ने गर्ने हो भने आफ्नै दलतिर हेर्दा हुन्छ । नयाँलाई हेर्ने हो भने त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो,” रविले गगन थापातर्फ लक्षित गर्दै भने, “पुराना दलहरुले आफ्नो दलभित्र एकपटक चियाएर हेर्ने हो कि, विश्वविद्यालयमा भातृ संगठन नबनाउने घोषणा कार्यान्वयन गर्ने हो कि ? सरकारी जग्गा किर्ते गर्ने मान्छे, आफ्नै दलको वरपर होलान् तिनलाई पहिला पार्टीगत रुपमा कारबाहीको दायरामा ल्याउने हो कि ?”