• जेष्ठ ६ २०८३, बुधबार

रवि लामिछाने र दीपेश पुनविरुद्ध सूर्यदर्शन सहकारी पीडितले हाले उजुरी

माघ २२ २०८०, सोमबार

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

पोखरा उपमहानगरपालिका वडा नम्बर-५ मा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितको जिकिर छ ।

रवि लामिछाने पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् । २५ जना पीडितले थप एउटा जाहेरी ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले बताए ।

उनले भने, ‘यसअघि नै १ हजार ७६ जाहेरी दर्ता भैसकेको छ, थप आएको जाहेरी दर्ता गर्नुपर्ने अवस्था छैन ।’ पूरक जाहेरी थप अनुसन्धान गर्न ‘सूचना’ हुने एसपी थापाले बताए ।

पीडितहरूले लामिछाने र पुनसहित थप १५ वटा कम्पनीबारे पनि अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेका छन् । बचतकर्ताको पैसा ती कम्पनीमा लगानी गरेको पीडितको भनाइ छ ।