• मंसिर १५ २०८१, शनिबार

रास्वपासित रविलाई प्रधानमन्त्री बनाउने बाहेक अरु उद्देश्य छैन : सीके राउत

माघ २२ २०८०, सोमबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन् ।

जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् ।

‘यस पार्टी (रास्वपा) सँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना देखिँदैन’, राउतले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘यसको नेतृत्वको जति चाँडो सकिन्छ कुनै तरिकाले २०८४ पहिला नै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सीमित देखिन्छ । मानौं, प्रधानमन्त्री बन्ने बित्तिकै देशको सारा समस्या समाधान हुनेछ ।’
राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।